चीनको नयाँ नक्साबारे भारतको कडा आपत्ति


 


अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कैयौँ भूभागलाई चीनले नयाँ नक्सामा आफ्नो सीमामा राखेको भन्दै भारतले चीनसँग कडा आपत्ति जनाएको छ।

भारतका विदेश मन्त्री एस. जयशङ्करले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’माथि ‘कडा विरोध’ जनाएको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच दक्षिण अफ्रिकामा सीमा विवाद सुल्झाउनेबारे कुराकानी भएकै केही दिनमा चीनको नयाँ नक्सा आएको छ। चीनले यस अघि पनि ती भारतीय इलाकामाथि आफ्नो दाबी गर्दै आएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नक्साबारे प्रतिवाद गरेका छन्।

उक्त विज्ञप्तिमा भनिएको छ, “चीनको तथाकथित २०२३ को ‘प्रचलित नक्सा’मा भारतीय भूभागमाथि दाबी गरिएको छ। त्यसप्रति हामीले कूटनीतिक माध्यमबाट कडा विरोध जनाएका छौँ।”

“हामी यस्तो दाबीलाई खारेज गर्छौँ र चिनियाँ पक्षले यस्तो कदम चाल्दा सीमा सम्बन्धी समस्या सुल्झनुको सट्टा बल्झिन्छ।”

चिनियाँ सरकारी सञ्चार माध्यमले ‘राष्ट्रिय मानचित्र जागरूकता प्रचार सप्ताह’ को सन्दर्भमा यो नक्सा जारी गरिएको जनाएका छन्।

नक्साबारे सामाजिक सञ्जालमा पनि बहस भइरहेको छ। विपक्षी नेता र सैनिक पूर्वअधिकारीले त्यसको आलोचना गरेका छन्।

सन् १९९९ मा कारगिल युद्धका बेला सेना प्रमुख रहेका जनरल मलिकले “भारतले पनि एक चीन नीति त्याग्नु पर्ने” समय आएको बताएका छन्।

भारतको आपत्तिप्रति चीनले प्रतिक्रिया जनाइसकेको छैन।

भारत चीन सीमा विवादको इतिहास
भारतले धेरैजसो विवादित भूमिमाथि चिनियाँ गतिविधिप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिने गरेको छ।

दुई छिमेकीबीच ३४४० किलोमिटर लामो लाइन अफ एक्चुअल कन्ट्रोल भनिने स्पष्ट रूपमा नकोरिएको सीमा रेखा छ। नदी ताल र हिउँका कारण त्यो रेखा कैयौँ स्थानमा यताउता परेको छ।

भारत चीन सीमामा रहेका यस्ता विन्दुको आमने सामने पर्दा दुई देशबीच झडप पनि हुने गरेको छ। गत डिसेम्बरमा पनि तवाङ शहर नजिकै रहेको त्यस्तै विन्दुमा दुई देशका सैनिकबीच झडप भएको थियो।

चीनले अरुणाचल प्रदेशको सम्पूर्ण भूभागलाई ‘दक्षिण तिब्बत’ भन्दै आफ्नो भूमि भएको दाबी गर्दै आएको छ। जसलाई भारतले कडा रूपमा अस्वीकार गर्छ। भारतले पनि चीनको नियन्त्रणमा रहेको अक्साई चीन पठार आफ्नो भन्ने दाबी गर्छ।

अरुणाचलका ११ स्थानलाई चीनले नयाँ नाम दिने प्रयत्न गरेपछि दिल्लीले गत अप्रिलमा त्यसप्रति कडा प्रतिक्रिया दिएको थियो। त्यसबेला अरुणाचल क्षेत्र सदैव आफ्नो “एकीकृत र अविभाज्य” भूभाग रहेको भारतले बताएको थियो।

चीन र भारतबीच सन् २०२०मा लद्दाखको गलवान उपत्यकामा घातक झडप भए यता सम्बन्ध बिग्रिएको छ।

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्