नेपाल तेस्रो ओभरमै विजयी, बहराइन १० विकेटले पराजित


 


काठमाडौं, भदौ १५ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनलाई १० विकेटले हराएको छ । नेपालले लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भाबना मजबुत बनाएको छ ।

जितको लागि ३२ रनको सामान्य लक्ष्य नेपालले २।५ ओभरमा कुनै विकेट नगुाई पूरा गर्यो । नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ रनमा अविजित रहिन् । सीताराना मगर ३ बलमा २ रनमा अविजित रहिन् ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५।४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ६ खेलाडी शून्यमा आउट भएका थिए ।

नेपालको जितमा इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । लेग स्पिनर खुशी डंगोलले १।४ ओभरमा १ मेडनसहित कुनै रन नदिइ २ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् । पुजा महतोले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो ।नेपालले अव आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्