नेपालद्धारा भुटान तीन विकेटले पराजित


 


काठमाडौं, भदौ १७ । आईसीसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनौट खेलमा नेपालले भुटानलाई ३ विकटले हराएको छ ।

मलेसियामा आइतबार बिहान सम्पन्न खेलमा भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो । ब्याटिङमा निकै संघर्ष गरेको नेपालको लागि कप्तान रुबिना क्षेत्री बलेबासेले अविजित १२ रन बनाउँदै टोलीलाई विजयी गराइन् । बलिङतर्फ भुटानकी अञ्जुली घलेले ३ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ३९ रन बनाएको थियो । उसका लागि कप्तान देछेन वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । नेपालकी पुजा महतोले तीन तथा कविता कुवँर, खुसी डंगोल र रुबिना क्षेत्रीले एक एक विकेट लिए ।

लगातार तेस्रो जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने संभावना बलियो पारेको छ । पहिलो खेलमा मलेसियालाई पाँच रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्