पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु


 


काठमाडौं, भदौ २७ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन् ।

देशभर ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि किशोरीलाई खोप लगाउन सुरु गरिएको परिवार कल्याण महाशाखाको निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशमा भने बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गरिने छ ।

१४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई यो खोप लगाइने छ । त्यसका लागि सरकारले चीनसँग २० हजार भाइल एचपीभीविरुद्धको खोप खरिद गरेको थियो ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । जस अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्