चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह



काठमाडौँ, ६ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

विभागले बिहीबार र शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। यी दुई दिन हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै शुक्रबार बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार