भारतले प्यालेस्टाइनी जनताका लागि पठायो अत्यावश्यक मानवीय सहायता सामग्री
नयाँ दिल्ली । भारत सरकारले द्वन्द्वबाट प्रभावित प्यालेस्टाइनी जनताका लागि अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । भारतले ६.५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री पठाएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘यो सहयोग भारतीय वायुसेनाको सी १७ विमानबाट पठाइएको हो । सामानहरू विमानमार्फत् इजिप्टको एलआरिस एयरपोर्टमा पुर्याइएको छ ।’
प्यालेस्टाइनीहरूलाई पठाएको सहायतामा औषधि, शल्यचिकित्सा उपकरण, त्रिपाल, पानी शुद्धीकरण ट्याब्लेटजस्ता अत्यावश्यक सामग्रीहरू छन् ।
गत बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्यालेस्टाइन प्राधीकरणका अध्यक्ष महमुद अब्बाससँग टेलिफोन संवाद गरेका थिए । सोही क्रममा प्रधानमन्त्री मोदीले प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पठाउने बताएका थिए ।
मोदीले गाजाको अल अहली अस्पतालमा सर्वसाधारणको हत्या भएकोप्रति गहिरो शोक व्यक्त गरेका थिए । इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच द्वन्द्व हुँदा हजारौं इजराइली र प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन् ।
दुई पक्षबीच जारी युद्धले मानवीय संकट बढ्दै गएको छ । गाजामा इजरायलको आक्रमण तथा इजरायली भू भागमा हमासको आक्रमणका कारण दुवैतर्फ मानवीय सहायताको आवश्यकता रहेको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् । स्रोत- एएनआई
प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार