गाडीबाट फाेहाेर नफाल्नुस् है कारबाहीमा परिएला !


 


काठमाडाैं, मंसिर ३०

सरकारले सार्वजनिक सवारी साधनमा यात्रा गर्नेले जथाभावी फोहोर फाल्न नदिन कडाइ गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीचको सहमतिपछि शूक्रबारदेखि सवारीसाधनबाट सडकमा फोहर फाल्न नपाउने व्यवस्था लागू गर्न लागिएको हो ।

नयाँ व्यवस्था अनुसार काठमाडौंभित्र चल्ने वा लामो दूरीका सवारीसाधनमा यात्रा गर्नेले गाडी छुट्नु अघि, चलिरहँदा र रोकिएको बेला सडकमा जथाभावी फोहर फाल्न पाउने छैनन्।

मन्त्रालयका अनुसार हरेक सार्वजनिक सवारी साधनमा फोहोर संकलनका लागि तोकिएको गुणस्तर अनुसारको प्लाष्टिकको थैलो वा डस्टबिन अनिवार्य रुपमा राख्नु पर्नेछ । गाडी छुट्नु भन्दा अगाडी सवारी चालक वा सहचालकले यात्रुलाई डस्टबीनको प्रयोग गर्न अनुरोध गर्ने, गाडीमा सुचना टाँस गर्ने तथा यात्रुले फालेको फोहोर तोकिएको ठाउँमा मात्रै विसर्जन गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

यस्तो व्यवस्थाको उल्लंघन गरिएमा फोहर गर्ने व्यक्ति, संस्था तथा सार्वजनिक यातायातका सञ्चालकलाई फोहोरमैला ऐन अनुसार जरिवाना र आवश्यक कारवाही गरी नाम समेत सार्वजनिक गरिने चेतावनी मन्त्रालयले दिएको छ ।

सार्वजनिक सवारी साधनबाट प्लाष्टिकको बोतल, खानेकुरा, तयारी खानेकुराका खोल, प्लाष्टिकका झोला, कागज लगायत जथाभावी फालिँदा फोहर बढेको र वातावरणमा समेत प्रतिकूल प्रभाव परेकाले त्यसलाई रोक्न भन्दै स्थानीय विकास मन्त्रालय र यातायात व्यवसायी बीच फोहर व्यवस्थापन सम्बन्धि नयाँ व्यवस्था लागू गर्ने गरी मंसिर १७ गते सहमति भएको थियो ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्