रसुवागढी नाकाबाट रु ४० अर्बभन्दा बढीको आयात
रसुवा, २५ जेठ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यका सामान आयात भएका छन्।
रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म यस नाकाबाट रु ४० अर्ब १० करोड बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएको बताएका छन्।
उनका अनुसार तयारी पोसाक, जुत्ता–चप्पल, रोल कपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, जलविद्युत् आयोजनाका उपकरण तथा विद्युतीय सवारीसाधनलगायत सामग्री मुख्य रूपमा आयात हुँदै आएका छन्।
प्राचीनकालदेखि नै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको महत्वपूर्ण व्यापारिक मार्गका रूपमा परिचित रसुवागढी नाका लिच्छवी तथा मल्लकालदेखि नै व्यापारिक गतिविधिको केन्द्र रहँदै आएको छ। आधुनिक सडक सञ्जालको विकाससँगै यो नाका अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ।
भन्सार कार्यालयका अनुसार सोही अवधिमा नेपालबाट करिब रु ९० करोड बराबरका वस्तु निर्यात भएका छन्।
आयात–निर्यात गतिविधिबाट चालु आर्थिक वर्षमा हालसम्म रु १० अर्ब ८० करोड राजस्व सङ्कलन भएको निमित्त प्रमुख विकले जानकारी दिएका छन्।
विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियाबारे उठेका प्रश्नका सन्दर्भमा उनले प्रचलित भन्सार ऐन तथा नियमावलीअनुसार पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने सुविधा रहेको बताएका छन्।
तोकिएको कानुनी प्रक्रियाअनुसार राजस्व सङ्कलन भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नभएको स्पष्ट पार्दै उनले रसुवागढी नाकाले राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















