म्यान्मा सङ्घर्षमा चिनियाँ हताहतको पुष्टि


 


एजेन्सी । म्यान्माको जुन्तासँग सङ्घर्ष गर्ने जातीय सशस्त्र समूहहरूले चीनसँगको सीमामा रहेका मुलुकको उत्तरी क्षेत्रका सीमा चौकीहरू कब्जामा लिएपछि चिनियाँ हताहत भएको बेइजिङले मङ्गलबार पुष्टि गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँहरू मारिएको, घाइते भएको वा घटना कहाँ भएको भन्नेबारे बताएनन ।

म्यान्माको स्थानीय सञ्चारमाध्यमहरूले जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआई) को मुख्यालय लाइजा सहरमा सेनाले गोलाबारी गर्दा एक चिनियाँको मृत्यु भएको र अन्य दुई घाइते भएको शनिबार बताएका थिए । एउटा गोला सीमाको चीनतर्फ खसेको समाचारमा जनाइएको छ ।

“सशस्त्र सङ्घर्ष बढ्दै गएको र चिनियाँ कर्मचारीको हताहतप्रति बेइजिङ गम्भीर असन्तुष्टि व्यक्त गर्दछ”, प्रवक्ता वेनबिनले मङ्गलबार भन्ने , “चीनले सम्बन्धित पक्षहरूसँग गम्भीर विरोध जनाएको छ र उत्तरी म्यान्मामा सङ्घर्षको स्थितिलाई ध्यान दिइरहेको छ ।” “चीन एक पटक पुनः उत्तरी म्यान्मामा सङ्घर्षमा सहभागी सबै पक्षलाई तुरुन्त गोलाबारी रोक्न माग गर्दछ, सबै पक्षले चीनको सीमावर्ती क्षेत्रमा मानिसको जीवन र सम्पत्तिलाई जोखिममा पार्ने कुनै पनि घटना पुनः नहोस् भनेर यथार्थपरक कदम चाल्नुपर्छ”, “बेइजिङले आफ्ना नागरिकको जीवन र सम्पत्तिको रक्षाका लागि आवश्यक कदम चाल्नेछ ।”

चीनले गत साता म्यान्मासँग आफ्नो सीमानजिक बढ्दै गएको लडाइँप्रति चिन्ता व्यक्त गरेको छ । चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म म्यान्माको भ्रमण गरे । जुन्ता अधिकारीहरूसँग भेट गरेर चीन–म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आग्रह गरे । “उहाँले जुन्तासँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमान्दारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन आग्रह गर्नुभएको छ”, बेइजिङको विदेश मन्त्रालयले भनेको छ ।

गत साता संयुक्त आक्रमण सुरु भएदेखि म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए), ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) र अराकान आर्मी (एए) ले आफूहरूले उत्तरी शान राज्यमा दर्जनौँ सैन्य चौकी कब्जामा लिएको बताएका छन् । टिएनएलएले मङ्गलबार आफ्नो मिडिया च्यानलमा चिनियाँ सीमा नम्हकम सहरमा उसले करिब सम्पूर्ण नियन्त्रण कायम गरेको बताएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्