चिनियाँ खतराविरुद्ध ताइवानले विकास गर्‍यो पहिलो स्वदेशी पनडुब्बी


 


एजेन्सी । ताइवान पहिलोपटक स्वदेशी पनडुब्बी बनाउन सफल भएको छ । एक अर्ब ५४ करोड अमेरिकी डलर खर्चमा ताइवानले हाइकुन पनडुब्बी निर्माण गरेको हो ।

चीनले जतिबेला पनि आक्रमण गरेर कब्जा गर्ने चेतावनी दिइरहँदा ताइवानले चिनियाँ खतराविरुद्ध लड्न पनडुब्बी विकास गरेको हो । यो पनडुब्बी डिजेल र विद्युतीय ऊर्जाबाट चल्छ । सन् २०२४ को अन्तिममा हाइकुन पनडुब्बीलाई ताइवानको नौसेनाको जिम्मा लगाइनेछ । अमेरिकाका अनुसार आगामी केही वर्षभित्रै चीनले ताइवानलाई आक्रमण गरेर कब्जा गर्ने प्रयास गर्नेछ ।

चीनका राष्ट्रपति सी चिनफिङले ताइवान चीनको अभिन्न अंग भएका कारण उक्त टापुसँग शान्तिपूर्ण पुनर्मिलन चाहने बताउँछन् । तर, आवश्यक परे आक्रमण गरेरै पनि कब्जा गर्न सकिने उनको भनाइ छ । सीले ताइवानका अलगाववादीहरूबाट खतरा बढेकाले चिनियाँ जनमुक्ति सेनालाई हरेक समय युद्धका लागि तयार हुन निर्देशन दिइसकेका छन् ।

यस्तोमा ताइवानले अमेरिकाबाट शक्तिशाली हतियार खरिद गरिरहेको छ । र, अहिले उसले सैन्य क्षमता बढाउन भारी बजेट छुट्याएको छ । चीनले ताइवानलाई आफ्नो देशको एक प्रान्त भएको बताउँदा ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको बताउने गर्छ ।

ताइवानकी राष्ट्रपति साई इंग वेनले आफ्नो देशको पहिलो पनडुब्बी अनावरण गर्दै भनेकी छिन्, ‘यो ऐतिहासिक दिन हो । स्वदेशी पनडुब्बी बनाउनु पहिले असम्भव विचारजस्तो लाग्थ्यो तर अहिले त्यो सपना पूरा भएको छ । हाम्रो उद्देश्य १० वटा पनडुब्बी फ्लिट बनाउने हो । जसमा यस्तो युद्धपोत पनि समावेश हुनेछन्, जसले क्षेप्यास्त्र हान्नेछ ।’

हाइकुन पनडुब्बीमा अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनको प्रविधि प्रयोग भएको छ । यस्तै, अमेरिकाले बनाएको विस्फोट पदार्थ यहाँ प्रयोग हुनेछ । अमेरिका, बेलायतसहित कम्तीमा ६ देशले पनडुब्बी विकासमा सहयोग पुर्‍याएको रोयटर्सले जनाएको छ ।

चीनले यसैवर्ष ताइवानलाई कसरी आक्रमण गर्नेछौँ भनेर एउटा भिडियो नै सार्वजनिक गरेको थियो । जहाँ ताइवानलाई समुद्र वरिपरिबाट घेरेर र हवाई आक्रमण गरिने साथै थलसेना पठाएर आक्रमण गरिने विषय समेटिएको थियो । ताइवानले विकास गरेको पनडुब्बीले चीनका नौसेनालाई रोक्ने लक्ष्य लिएको छ । पनडुब्बीले समुद्रमुनिबाट आक्रमण गर्न सक्छ । ताइवानको पनडुब्बीमा स्टिल्थ प्रविधि भएकाले दुश्मनले उनीहरूको पनडुब्बीको अवस्था थाहा पाउन नसक्ने दाबी गरिएको छ । ताइवानका सेनाले युद्धका क्रममा चिनियाँ सेनालाई रोकिरहँदा जापान र अमेरिकाले सहयोग गर्ने अपेक्षा राखेका छन् ।

ताइवानसँग आगामी वर्षको अन्तिमसम्ममा १० वडा पनडुब्बी हुनेछ । तर, चीनसँग अहिल्यै नै ६६ वटा पनडुब्बी छ । जसकारण चिनियाँ सेना अगाडि ताइवानको पनडुब्बी फ्लिट कमजोर सावित हुनसक्छ तर ताइवानका सेनाहरूले यतिबेला नै सानो संख्याले कसरी चीनजस्तो ठूलो शक्तिलाई आक्रमण गर्ने भनेर गुरिल्ला रणनीतिमा काम गरिरहेको विश्लेषकहरू बताउँछन् ।

चिनियाँ रक्षा मन्त्रालयले भने प्रशान्त क्षेत्रमा आफ्नो सेनाको कारबाही रोक्ने प्रयास गर्नु मूर्खतापूर्ण कार्य भएको प्रतिक्रिया जनाएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्