जमिन भासिन थाल्यो स्थानीय त्रसित


 


खोटाङ, असार १

भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् ।

बस्तीदेखि सात÷आठ सय मिटर तलबाट जमिन भास्सिन थालेपछि उक्त बस्तीका स्थानीयवासी त्रसित बनेको शारदा उच्चमावि खार्पाका शिक्षक वसन्तराज पोखरेलले बताए। उनले भने – “वैशाख १२ गतेको भूकम्पपछि धाँजा फाटेको उक्त जमिन कुन बेला बग्ने हो टुङ्गो छैन, अहिले दुई मिटरभन्दा बढी फाटिसकेको छ ।”

नेवार बस्ती रहेको उक्त जमिन भास्सिन थालेपछि अध्ययनका लागि प्राविधिक टोली खटाइएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए।

 उनले भने,  “यो सङ्कटपूर्ण अवस्था हो, कहाँ कुन बेला के हुन्छ थाहा हुँदैन, त्यसैले सबैले सजगता अपनाउनुपर्ने अवस्था आएको छ ।”

 जमिन भास्सिन थालेपछि स्थानीयवासीले अध्ययनका लागि टोली पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको छ । उक्त पत्रका आधारमा भू–संरक्षण कार्यालयका प्रमुखको नेतृत्वमा प्राविधिक टोली खटाइएको प्रजिअ सापकोटाको भनाइ छ ।

 जमिन भास्सिएपछि जुकेखोला गाउँमा खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको एकीकृत नेकपा (माओवादी) खार्पाका सचिव राजन मगरले जानकारी दिए।

 मगरका अनुसार वडा नं ८ र ९ का करिब ८० घरपरिवारले उपभोग गर्ने खानेपानीको मुहानमा क्षति पुगेपछि पानी आउन छाडेको छ ।

 जमिन चिराचिरा परेर भास्सिन थालेपछि त्यस क्षेत्रमा गाडिएका तीनवटा बिजुलीको खम्बासमेत भास्सिएको जनाइएको छ । बिजुलीको खम्बा भास्सिएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

 वर्षा सुरु नहुँदै जमिन भास्सिएपछि अर्खौले, खार्पा हुँदै एेंसेलुखर्कसम्मको कच्ची सडकमार्गसमेत अवरुद्ध बनेको स्थानीयवासीले जनाएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयवासी पैदलयात्रा गर्न बाध्य भएका छन् । रासस

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्