मेची अभियानले बनायो विद्यालय


 


रामेछाप, असार १

मेची अभियानको लगानी र श्रमदानमा रामेछाप सदरमुकाम मन्थलीदेखि ७२ किलोमिटर टाढा रहेको विकट गाउँ बाम्तीमा भूकम्पले भत्काएको विद्यालय पुनर्निर्माण गरिएको छ। अभियानले बाम्तीमा भूकम्पले भत्काएको सिद्धेश्वर उच्च माविको पुननिर्माण सम्पन्न गरेको हो।

सो विद्यालय पुननिर्माणका लागि मेची अञ्चलमा क्रियाशिल विभिन्न राजनीतिक  दलका स्थानीय नेताहरु मेची अभियानमा सहभागि हुँदै रामेछाप पुगेका थिए। ४० बण्डल जस्तापातासहित आएको टोलीले स्थानीयको सहयोगमा विद्यालय पुननिर्माण गरेको हो। विद्यालय बनाउने क्रममा अभियानको टोलीसँगै स्थानीय वासिन्दाहरुले पनि श्रमदान गरेका थिए।

त्यस्तै अभियानले बाम्ती नजिकैको कुमुकास्थली गाविसमा रहेको जनता माध्यमिक विद्यालयका लागि २३ बण्डल जस्तापाता उलपब्ध गराएको अभियानको संयोजन गरेका कांग्रेस युवा नेता विश्वप्रकाश शर्माले बताए।

मेची अभियानकै संयोजनमा बाम्तीमा स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ। डा.सुमन कर्माचार्य नेतृत्वको टोलीले भूकम्पमा परि घाइतेहरुको उपचार, स्थानीय वासिन्दाको स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको थियो। शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन्।

अभियानले यसअघि काभ्रेको शिखर अम्बोटे गाविसमा घूकम्पपछि घरवारविहिन भएकाहरका लागि ३५ वटा अस्थायी घर निर्माण गरेको थियो।

सडक दुर्घटनामा परि ०५१ सालमा निधन भएका नेविसंघ केन्द्रीय सदस्य कुमार कार्कीले अध्ययन गरेको विद्यालय भएकाले आफूले बाम्तीकै सो विद्यालय पुननिमाणका लागि रोजेको शर्माले बताए।

कांग्रेसका युवा नेता शर्मा सर्वदलीय टोली लिएर बाम्ती आएका थिए। उनको संयोजनमा रहेको टोलीमा  एमाले मेची नगर अध्यक्ष राजु पोखरेल, एमाओवादी नगर इन्चार्ज प्रकाश भण्डारी, राप्रपा नेपाल मेची नगर अध्यक्ष सुशील आचार्य, उद्योग वाणिज्य संघ, मेची नगरका अध्यक्ष विजय डालमिया, पर्यटन व्यवसायी मेदिनी गुरागाई, इन्जिनियर सचित झा, जनआन्दोलनमा एउटा आँखा गुमाएका घाइते धनकाजी खत्रीलगायत सहभागि थिए।

‘सिंहदरबारमा साझा राष्ट्रिय सहमतिको सरकार खोज्ने तर पुननिर्माणमा गाउँ जाँदा अलगअलग भएर जाने कुरा विरोधाभाषपूर्ण छ,’ शर्माले सर्वदलीय टिम लिएर रामेछाप पुग्नुको कारणबारे  भने,‘त्यसैले सिंहदरबासँगै पुननिर्माणमा जाँदा पनि एकै ठाउँ भएर जानुपर्छ भन्ने सन्देश हामीले रामेछापबाट दिन खोजेका हौं।’

‘भिन्न संस्था, भिन्न आस्था राहतको अभियान एउटै, राष्ट्रिय पुननिर्माणका लागि संकल्प, अठोट एउटै’ भन्ने नाराका  साथ मेची अभियान वैशाख १२ पछि भूकम्पप्रभावित क्षेत्रमा राहत र पुननिर्माणको काममा जुटिरहेको छ।

setopati

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्