चीनसँग टक्कर लिँदै दुबईमा भारत मार्टको शिलान्यास


 


काठमाडौं । अबुधावीमा हिन्दु मन्दिर उद्घाटन गरेकै बखत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युएईका उपराष्ट्रपति-प्रधानमन्त्री शेख मोहम्मद बिन राशिन अल मकतुमसँगै दुबईको जेबेल अलिस्थित स्वतन्त्र व्यापार क्षेत्रमा भारत मार्टको गत बुधवार भर्चुअल शिलान्यास गरे।

यो एक लाख वर्गमिटर क्षेत्रफलमा निर्माण हुने यस्तो व्यापारिक केन्द्र हुनेछ जो भारतीय एमएसएमई कम्पनीको अन्तराष्ट्रिय क्रेतासम्म पुग्ने प्रभावकारी फोरम हुनेछ ।

आत्मनिर्भर भारतको सपनामा उडान भर्ने दिशामा यसलाई महत्वपूर्ण कदमका रुपमा प्रचारप्रसार गरिँदैछ । यो प्रोजेक्ट २०२५ सम्म पुरा हुने अपेक्षा छ ।

भारत र युएईबीच २०२२ मा विस्तृत आर्थिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । भारत मार्टको शिलान्यास त्यही अवधारणाको निरन्तरताका रुपमा हेरिएको छ ।

डीपी वर्ल्डले यसको निर्माण गर्नेछ । सुक्ष्म, लघु, मध्यम उद्यम (एमएसएमई)लाई खाडी, पश्चिम एशिया, अफ्रिका र युरेसियासम्म पुर्‍याउने मञ्च हुनेछ र भारतीय निर्यातमा यसले ठूलो भूमिका निर्वाह गर्नेछ ।

यो जोबेल अली बन्दरगाह नजिकै बन्ने भएको छ । यसले त्यहाँ भारतीय कम्पनीका लागि गोदामको सुविधा उपलब्ध गराउनेछ । यसले भारत र युएईबीच द्विपक्षीय व्यापार पनि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

रिटेल, शोरुम, अफिस, गोदाम लगायत हुनेछ जहाँ भारतीय सुक्ष्म, लघु, मध्यम उद्यमका कम्पनीलाई अन्तराष्ट्रिय खरिदकर्तासम्म पहुँच सहज हुनसक्ने विश्वास गरिएको छ ।

यो भनिन्छ कि एमएसएमई कम्पनीले आफ्ना उत्पादन अमेरिका, युरोप, पश्चिम एशियालगायतका देशमा आफ्ना उत्पादनको आपूर्ति गर्ने चाहानाका लागि भारत मार्ट सहयोगी हुने अपेक्षा छ । उनीहरुका लागि निर्यात खर्च कम हुन सक्छ र भारतीय उत्पादकले एउटै छातामुनि भारत मार्टका उत्पादन राख्न सक्नेछन् ।

तर, चीनका लागि यो तनाव हुने जानकारको भनाई छ । यसलाई दुबईमै रहेको चिनियाँ ड्रागन मार्टसित तुलना गरेर व्याख्या गरिएको छ । चिनियाँ ड्रागनमा चिनियाँ उत्पादन भरिभराउ छन् ।

ड्रागनको आकारमा रहेको चिनियाँ मार्ट एकलाख ५० हजार वर्गमिटर क्षेत्रफलमा छ । यहाँ चार हजार जति रिटेल पसल छन् । यसकै छेउमा ड्रागन मार्ट–२ पनि खुलेको छ जहाँ होटल, रेस्टुरेन्ट तथा सिनेमा हलको सुविधा उपलब्ध छ ।

यही शहरमा अत्याधुनिक भारत मार्टको शिलान्यास भएको छ । यसबाट चीनलाई तनाव उत्पन्न भएको छ । यो मार्ट २०२५ सम्म सञ्चालनमा आउनेछ ।

भारत र युएईले २०३० सम्म नन पेट्रोलियम उत्पादनको आयात निर्यात बढाएर ८.३ लाख करोड रुपियाँ पुर्‍याउने निर्णय गरिसकेका छन् । यो दिशामा भारत मार्ट अमेरिकालगायतका अन्य देशका लागि पनि उपयुक्त हुनेछ ।

भारतमार्ट सञ्चालनमा आएपछि चिनियाँ सामानलाई विदेशी बजारमा भारतीय सामानले टक्कर दिनेछन् । भारतले त मध्यपूर्व, पश्चिम एशिया, युरोप तथा पश्चिमी देशहरुको बजार कब्जा गर्न सकिने आकलन भइरहेको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्