कांग्रेसले चीनको ऋण अस्वीकार गर्दा नयाँ गठबन्धन बनेकाे सहमहामन्त्रीकाे खुलासा


 


जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चीनको ऋण अस्वीकार गर्दा वामपन्थीहरू नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् ।

धनुषाको लक्ष्मीनीयाँस्थित नवनिर्मित शहिद कामेश्वर-कुशेश्वर स्मृति प्रतिष्ठानको भवनको समुद्घाटन गर्दै उनले भने, ‘चीनले वन वेल्ट वन रोड ऋण दिएर बनाउन खोजेको छ । तर कांग्रेसले ऋण अस्वीकार गरेपछि प्रधानमन्त्री गठबन्धन फेरे ।’

उनले श्रीलंका जस्तै नेपाललाई ऋणमा डुबाएर चीनले कब्जा गर्ने मनसाय बोकेको बताए । चीनको ऋणमूलक आयोजना कांग्रेसले अस्वीकार गर्दा वामबन्थीहरुले नयाँ सरकार बनाएको उनले बताए ।

देशको अर्थतन्त्र डामाडोल रहेकाले ऋणभन्दा पनि अनुदान सहयोगमा विदेशी आयोजना स्वीकार्ने पक्षमा रहेको सहमहामन्त्री यादवले बताए ।

उनले वर्तमान सरकार छ महिना पनि नटिक्ने दाबी समेत गरे । उनले भने, ‘नयाँ गठबन्धनको सरकार मात्र एक महिना रहने भनेर सत्ताधारीहरू नै भनिरहेका छन् । तर म भन्छु- छ महिनाभन्दा टाढा जान सक्दैन ।’

सहमहामन्त्री यादवले अब वामपन्थी र लोकतान्त्रिक शक्तिको अलग अलग दुई गठबन्धनले मात्र देशको हित हुने र जसपा, नेकपा एस जस्ता पार्टीहरूको पतन हुने दाबी समेत गरे ।

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्