चैत १५ बाट पाठ्यपुस्तक बिक्री शुरु, १ करोड ६३ लाख थान छपाइ सकियो


 


काठमाडौं । आगामी शैक्षिक सत्रका आगामी चैत १५ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू हुने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत १५ गतेबाट पहिलो चरणमा ९ वटा क्षेत्रीय कार्यालयअन्तर्गत हिमाली क्षेत्रबाट पाठ्यपुस्तक बिक्री हुने जनाएको छ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाका अनुसार २४ सै घण्टा छपाइ मेसिन सञ्चालन गरी दैनिक १ लाख ५० हजार थान पाठ्यपुस्तक छपाइ भइरहेको छ।

केन्द्रको तथ्याङ्कअनुसार कुल १ करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्छ। त्यसमध्ये अहिलेसम्म १ करोड ६३ लाख थान छपाइ सकिसकेको छ भने ११ लाख थान छापिने क्रममा छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शैक्षिक सत्रको पहिलो दिन देशैभरका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिनुभएको थियो। सोही आधारमा आगामी शैक्षिक सत्र अर्थात् वैशाख २ गतेअगावै पाठ्यपुस्तक पुर्‍याउने तयारी भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिए ।

जनक शिक्षाले पहिलो चरणमा ७ प्रादेशिक कार्यालय, नेपालगञ्जको प्रिन्टिङ कार्यालय र मुख्यालयसहित ९ कार्यालयबाट सबैभन्दा पहिला हिमाली, त्यसपछि पहाडी र तराईका जिल्लामा पाठ्यपुस्तकहरू ढुवानी गर्नेभएको छ। प्रबन्ध सञ्चालक झाकाअनुसार अन्तिममा उपत्यकाका जिल्लामा पाठ्यपुस्तकहरू बिक्री गर्नेगरी तयारी थालिएको छ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्