भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त


 


हनोई । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति बनाइएको हो ।

भियतनामी राष्ट्रिय सभा (एनए) को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको भियतनामी समाचार एजेन्सीले जनाएको छ ।

नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ ।

बैठकले थुओङलाई सन् २०२१/२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५औँ उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ ।

निवर्तमान राष्ट्रपति थुओङले कानुनी ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको स्विकार गर्दै राष्ट्रपति पदबाट राजीनामा दिनुभएको थियो ।

भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताउनुभएको थियो ।

बुधबार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उहाँको राजीनामा स्वीकृत गरेको थियो । रासस/एएफपी

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्