आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ लाई दियो विशाल लक्ष्य


 


काठमाडौं, चैत १६ । टि२० सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ लाई २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो ।

तीव्र गतिका बलर कमल सिंह ऐरीले दोस्रो बलमै विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । रस अडेरलाई स्लिपमा क्याच आउट गराउँदै कमलले सुखद पुनरागमन गरे । एक वर्षपछि मैदान फर्केका उनले कसिलो बलिङ गरे ।

त्यसपछि केड कार्माइकल र पिटर मुरले ५८ बलमा ८८ रनको आक्रामक साझेदारी गरे । सागरले दशौं ओभरको अन्तिम बलमा केडलाई एलबीडब्लु आउट गरे । उनले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन जोडे ।

त्यसपछि अर्को ओभरमा पिटर अर्धशतकबाट १ रन नपुग्दा बोल्ड भए । आरिफको बलमा आउट हुनुअघि उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

स्टेफन डोहनीले १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रन बनाए । उनलाई कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाएर साथ दिए । दुवैलाई कमल सिंह ऐरीले आउट गरेका थिए ।

ग्यारेथ डेलनीले अन्तिम ३ बलमा लगातार छक्का प्रहार गर्दै १४ बलमा नटआउट ३० रन जोडे । ग्याभिन होए ६ बलमा २ छक्कासहित १८ रनमा नटआउट रहे ।

कमलले ३ विकेट लिए भने आरिफ शेख र सागर ढकालले १(१ विकेट लिए ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्