विराट गोल्डकपः साङ्ग्रिला सेमिफाइनलमा


 



मोरङ, १७ चैत । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्गशालामा रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको आज साँझ भएको खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लब विजयी भएको छ ।

मोरङको साङ्ग्रिला फुटबल क्लबले भुटानको आरटिएफसीलाई तीन–दुई गोलले पराजित गरेको हो । जितसँगै साङ्ग्रिला प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साङ्ग्रिला क्लबका जर्सी नं ९ का अशिष चापागाईँ खेलको २६ मिनेटमा र जर्सी नं १० सुशील राईले ३३औँ मिनेटमा एक–एक गोल गरेका थिए ।

पहिलो हाफमा २–० गोलअन्तरले अगाडि रहेको उसका लागि खेलको ५०औँ मिनेटमा जर्सी नं ७ का खेलाडी स्याङले एक गोल गर्दै टोलीलाई ३–०को अग्रता दिए ।
भुटानका लागि जर्सी नं ३ का सोरव दार्जेले खेलको ६५औँ र ७४औँ मिनेटमा दुई गोल गरी खेलमा फर्कने प्रयास गरे पनि सफल भएनन् ।
आजको खेलको प्लेयर अफ द म्याच साङ्ग्रिला क्लबका महेन्द्र कार्की घोषित भए । उनले रु ११ हजार प्राप्त गरे ।

प्रतियोगितामा नेपालका सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली, न्युरोड टिम, मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए छन् ।

यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिएफसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गरेका छन् ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । आइतबारको खेल काठमाडौँको एनआरटी फुटबल क्बल र भारतको सिक्किम ड्रागनबीच हुनेछ ।

प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्