भारतमा नेपालको लगातार दोस्रो जित


 


काठमाडौं, चैत २० । भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार दोस्राखे खेलमा नेपालले बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो ।

बरोडाका लागि भानु पानियाले २६ बलमा सर्वाधिक ३८ रन बनाए । बाबा खानले १८ बलमा २७ रन प्रहार गरे । यस्तै कप्तान विष्णु सोलाङ्कीले ३२ बल खेलेर २५ रन जोड्दा ओपनर अमित पासीले १४ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालको जितमा करन केसीले ३ तथा सोमपाल कामी र अविनाश बोहोराले २(२ विकेट लिए । यस्तै गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान १(१ विकेट लिए ।

त्यसअघि वापीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन जोड्यो ।

नेपालका लागि कुशल मल्लले अविजित रहँदै २५ बलमा ३ चौका र २ छक्का सहित ४० रनको सर्वाधिक इनिङ खेले । यस्तै अर्को तर्फ दीपेन्द्र सिंह ऐरी ५ रनमा नटआउट रहे ।

नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल टोलीले १४ रन बनाएको अवस्थामा ९ रन बनाएर तेस्रो ओभरमा पहिलो विकेटको रूपमा पेभेलियन फर्किएका थिए । आशिफ शेख पनि पाँचौं ओभरमा ९ रन नै बनाएर आउट भए । दुवै ओपनर बाबा खानको बलमा आउट भएका थिए ।

चौथो नम्बरमा कप्तान रोहित कुमार पौडेल १३ बलमा ३ चौका सहित १८ रन बनाएर आठौ ओभरमा रन आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाह २७ बलमा २५ रन बनाएर परीक्षित पतीडरको।बलमा क्याच आउट भए ।

नेपालले पाँचौं विकेट पनि छिटै गुमायो । अनिल आउट भएपछिको छैठौं बलमा गुलशन झा १४ बलमा १३ रन बनाएर मोहित मोङ्गियाको बलमा क्याच आउट नै भए । त्यसपछि सन्दिप जोरा र कुशल मल्ल मिलेर इनिङ सम्हालेका थिए । छैठौं विकेटका लागि दुई जना मिलेर ४८ रनको साझेदारी गरे ।

सन्दिप १८औं ओभरको पाँचौं बलमा १६ बल खेल्दै २ चौका र २ छक्का सहीत २९ रन बनाएर रन आउट भएपछि साझेदारी तोडिएको थियो ।

बरोडाका लागि बाबा खानले २ तथा परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १(१ विकेट लिए । नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा भोलि गुजरातको सामना गर्नेछ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्