कमलको ह्याट्रिकमा नेपाल ‘ए’ले पायो सामान्य लक्ष्य


 


काठमाडौ, चैत २१ । एकदिवसीय सिरिजको पहिलो खेलमा तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिकमा आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’लाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिएर आयरल्यान्डको तल्लोक्रम धराशायी पारे । वल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन जोडे ।

वल्भ्सले छैटौं ओभरमा जेम्स मकलमलाई १२ रनमा गुमायो । रिजन ढकालले उनलाई विकेटकिपरको हातबाट क्याच आउट गराए । नवौं ओभरमा डोहेनी पनि १२ रनमै साहब आलमको एल्बीडब्लु धरापमा परे ।

पिटर मुर २१ रनमा श्याम ढकालको बलमा बोल्ड हुँदा वल्भ्स ६१-३ को स्थितिमा पुग्यो । कप्तान निल रक र कार्माइकलले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । रक ३२ बलमा ३९ रन जोड्दै कमलको बलमा एलबीडब्लु आउट भए ।

त्यसपछि वल्भ्सले लगातार विकेट गुमाउन पुग्यो । डेलनी ६ रन जोड्दै श्यामको एलबीडब्लु शिकार बने । फिओन ह्यान्ड पहिलो बलमै रन जोड्ने धुनमा रनआउट भए । कार्माइकल ३७ औं ओभरमा साहबको बलमा क्याच आउट भए ।

त्यसपछि कमलले ३९ औं ओभरको सुरुवाती ३ बलमा विकेट लिए । लियाम मकार्थी क्याच आउट भएपछि कमलले म्याथ्यु हम्फ्रिज र बेन ह्वाइटलाई लगातार बलमा बोल्ड गरे ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्