आशिफ र कुशलको अर्धशतकमा नेपालले गुजरातलाई दियो विशाल लक्ष्य


 


काठमाडौं, चैत २१ । एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलको अर्धशतकीय इनिङ्को मद्दतमा नेपालले गुजरातलाई विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ८५ रन बनाए । उनले ५१ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गर्दै १८औं ओभरमा पेभेलियन फर्किएका थिए ।

नेपालको सुरुवात नै उत्कृष्ट रहेको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेख मिलेर १२५ रनको साझेदारी गरे । सो साझेदारी कुशल ४४ बलमा ९ चौका र २ छक्का सहित ६७ रन बनाएर १४औं ओभरमा आउट भएपछि टुटेको थियो ।

ओपनर बाहेकका अन्य ब्याटर भने चल्न सकेनन् । यी दुई बाहेक अन्य कुनै खेलाडीले पनि दोहोरो अंक पुर्याउन सकेनन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित कुमार पौडेल ७ बल खेल्दै ३ रन बनाएर १६औं ओभरमा आउट भए ।

त्यसपछि आएका सन्दिप जोरा र कुशल मल्ल क्रमसः २ र १ रनमा आउट भए । अन्तिम ओभरमा थप दुई विकेट खस्यो । गुलशन झा ४ र अनिल कुमार शाह बिना कुनै रन ध्रुशान्त सोनीको शिकार बने । विवेक कुमार यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे ।

गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २-२ विकेट लिए ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्