लगातार जितेर फाइन पुगेको नेपाल जितविहीन बरोडासँग पराजित


 


काठमाडौं, चैत २३ । एसएमएस फ्रेन्डशिप कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बरोडासंग ३७ रनले पराजित भएको छ । लगातार तीन खेल जितेको नेपाल जितविहीन बरोडासंग पराजित भएको हो ।

बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८।५ ओभरमा ११९ रनमा समेटियो । नेपालका लागि सन्दिप जोरा ४३ बलमा ३ चौका र ४ छक्का सहित ५६ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रनको योगदान गरे । यी बाहेक अन्य ब्याटरले दोहोरो अङ्क पनि छुन सकेनन् ।

बरोडाका लागि ध्रुव पटेलले ४ तथा लक्षित तोक्सियाले ३ विकेट लिए । यस्तै जय अभालेले २ र हेमन्त पुन्डेले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनायो ।

बरोडाका लागि शाश्वत रावतले २७ बल खेल्दै सर्वाधिक ३१ रन बनाए । ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्का सहित विष्फोटक इनिङ खेल्दै २९ रन बनाए ।

यस्तै ओपनर अमित पासीले २४ बलमा २६ रनको योगदान गरे । मोहित मोंगियाले २० बलमा ४ चौका सहित २२ रन बनाए । अभिमन्यु सिंह राजपुतले ११ रनको योगदान गरे ।

नेपालका लागि करन केसी र गुलशन झाले समान २(२ विकेट लिए भने आकाश चन्द, प्रतिश जिसी, ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान १(१ विकेट लिए ।

नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको थियो । नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम पाए भने पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा अटाएका थिए ।

रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका थिए । नेपाल र गुजरात दुवै यस खेल अगावै फाइनल प्रवेश गरिसकेका थिए । नेपालको ४ खेलमा ६ अंक भएको छ । गुजरातको ४ खेलमा ४ अंक हुन गर्यो भने भने बरोडा ४ खेलमा २ अंक सहित पुछारमा रह्यो ।

नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।

उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो ।

बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२(५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।

यस्तै तेस्रो खेलमा नेपालले गुजरात माथि ८ रनको जित निकाल्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्