डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाललाई दियो बलियो लक्ष्य


 


काठमाडौं, चैत २५ । एकदिवसीय सिरिजको अन्तिम खेलमा ओपनर स्टेफन डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाल ए लाई २ सय ८५ रनको बलियो लक्ष्य दिएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन जोड्यो । ओपनर डोहनीले १ सय २९ बलमा १ सय ७ रनको योगदान दिए । उनले ४७ औं ओभरमा आउट हुनुअघि ८ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर जेम्स मकलम ९ रन जोडेर विकास आग्रीको बलमा विकेटकिपरबाट समातिएका थिए । दोस्रो विकेटका लागि पिटर मुर र डोहनीले ६६ रनको साझेदारी गरे । मुरले २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको विष्फोटक इनिङ खेले । उनी साहब आलमको बलमा बाउन्ड्रीनजिक समातिए ।

केड कार्माइकल १३ बलमा ८ रन जोड्दै रंजित कुमारको बलमा बोल्ड भए । मोर्गन टपीङ ३६ बलमा २ चौकासहित २१ रन जोड्दै रिजनको एलबीडब्लु धरापमा परे । कप्तान निल रक मात्र १ रन जोड्दै रिजनकै बलमा आउट भए ।

तल्लोक्रममा ग्याभिन होएले १० बलमा १४ रन जोडे । फिओन ह्यान्डले २१ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए । म्याथ्यु हम्फ्रिजले अन्तिम बलमा रनआउट हुनुअघि ३४ बलमा २३ रन जोडे । बेन ह्वाइट १९ रनमा नटआउट रहे । उनले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नेपाल ए का लागि रिजन ढकाल र रंजित कुमारले ३/३ विकेट लिए । विकास आग्री र साहब आलमले १/१ विकेट बाँडे । वल्भ्सले सिरिज २/० ले जितिसकेको छ । वल्भ्सले यसअघि टि२० सिरिज २/१ ले जितेको थियो ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्