आईपीएलमा आरसीबीमाथि मुम्बईको सानदार जित


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसीबी) विरुद्ध सानदार जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा मुम्बईले आरसीबीलाई ७ विकेटले हराएको हो । आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५.३ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

मुम्बईका लागि ओपनर इशन किशनले ३४ बलमा सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले १९ बलमा ५२ रनको विष्फोटक इनिङ खेले ।

रोहित शर्माले २४ बलमा ३८ रन बनाए भने कप्तान हार्दिक पन्ड्याले ६ बलमा २१ रन बनाए । आरसीबीका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

आरसीबीका लागि कप्तान फ्याफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५३ रन जोडे । रजत पतिडरले २६ बलमा ५१ रन बनाए ।

मुम्बईका जसपृत बुम्राह एक्लैले ५ विकेट लिएका थिए भने जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १/१ विकेट लिएका थिए ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्