दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार दोस्रो जित


 


मस्कट । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अल–राउण्ड प्रदर्शनमा साविक विजेता नेपालले ओमनमा जारी एसीसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको नेपालले आज भने कतार माथि रनको जित निकालेको हो ।

नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मुहम्मद तन्भिरले ३३ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए । यस्तै मोहम्मद अहनाफले २३ तथा हिमांशु सिंहले २२ रन बनाए । अद्नान मिर्जाले १९ रन जोडे भने ओपनर कम्रान खानले १८ रन जोडे ।

नेपाललाई जिताउनका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान २–२ विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले समान १–१ विकेट लिए ।

त्यसअघि दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । अल अमेरातमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो ।

नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए । उनले कुल ३ चौका र ७ छक्का प्रहार गरे । २०औं ओभरमा दीपेन्द्रले कम्रान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । यस्तै ओपनर आशिफ शेखले ४१ बलमा ६ चौका सहित ५२ रन बनाए ।

ओपनर कुशल भुर्तेलले आज पनि लामो इनिङ खेलमा सकेनन् । तेस्रो ओभरको पाँचौं बलमा उनी १२ रन बनाएर अमिर फरूकको।बलमा क्याच आउट भए । कप्तान रोहित पौडेलले भने मध्यम सुरुवात पाएका थिए । तर १८ रनमा रहेको अवस्थामा उनलाई हिमांशु राथोडले क्याच आउट गराए ।

विष्फोटक सुरुवात गरेका कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्का सहित ३५ रन बनाए । उनी मुसावर शाहको बलमा मोहम्मद इर्सादद्वारा क्याच आउट हुन पुगे ।

सुरुवाती समयमा तीन जीवनदान पाएका आशिफ शेख आउट हुने चौथो ब्याटर थिए । कतारले उनको क्याच दुई पटक छोडेको थियो भने उनी एक पटक क्याच आउट हुँदा थर्ड अम्पाएरले नोबल दिएका थिए ।

सन्दिप जोरालाई पनि मुसावरले ७ रनमा क्याच आउट गराए । मलेसिया विरुद्ध अन्त्यमा जित दिलाएका गुलशन झालाई हिमांशुले ५ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे ।

आज टोलीमा आएका विवेक यादव पनि ५ रनमा मुसावरको बलमा आउट भए । सोमपाल कामी शून्यमा नटआउट रहे ।

कतारका लागि हिमांशु राथोड र मुसावर शाहले ३–३ विकेट लिए भने आमिर फरूकले १ विकेट लिए ।

कतारको यो लगातार दोस्रो हार हो । कतार हिजो हंगकंग विरुद्ध पराजित भएको थियो । नेपालले भने मलेसिया माथि ५ विकेटको जित निकालेको थियो । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।

प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्