विद्यार्थी भर्ना अभियान सुरु, कक्षा १ मा छ लाख विद्यार्थी भर्ना गरिने


 


काठमाडौँ । चालु शैक्षिक सत्रमा कक्षा १ मा करिब छ लाख नयाँ विद्यार्थी भर्ना हुने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार ती बालबालिकामध्ये प्रारम्भिक बाल विकास केन्द्रको अनुभव हासिल गरेका बालबालिका करिब ७० प्रतिशत छन् ।

केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार पाँच वर्ष उमेर पूरा भएका बालबालिकाको सङ्ख्या पाँच लाख ८२ हजार छ । विद्यालय जाने उमेर पूरा भएर पनि विविध कारणले विद्यालयबाहिर रहेका बालबालिकाको सङ्ख्या भने दुई लाख १३ हजार छ । ती बालबालिकामध्ये केही विगतमा भर्ना भएर पनि पढाइ छाडेका तथा केही भर्ना नै नभएका हुन् ।

यी बालबालिका पाँच वर्षदेखि १३ वर्ष उमेर समूहको रहेको केन्द्रले जानकारी दिएको छ । स्कुलबाहिर रहेका ती बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ ।

सबै बालबालिकाको विद्यालयमा सहभागिता
गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ सबै सामुदायिक विद्यालयमा आइतबारदेखि अभियान सञ्चालन गरिएको हो । सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

मन्त्रालयका प्रवक्ता केशव दाहालले तीनै तहका सरकारको समन्वयमा भर्ना अभियान सञ्चालन गर्ने बताए । उनले भने, “यस पटकको भर्ना अभियानको लक्ष्य भनेको विगतमा भर्ना भएर पनि विद्यालय छाडेका दुई लाख १३ हजार र अहिले भर्ना हुने उमेर पूरा भएका पाँच लाख ८२ हजार बालबालिकालाई विद्यालय प्रवेश गराउनु हो ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्