पृथ्वीजयन्तीका लागि राप्रपाले गर्यो ११ वटा समिति गठन


 


काठमाडौँ, पुस २०

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोह गर्ने भएको छ । जन्मजयन्तीका अवसरमा आयोजना गरिने चियापान, कवि सम्मेलन, विचार गोष्ठीलगायतका कार्यक्रमका लागि ११ वटा समिति पनि गठन गरिएको छ ।

भृकुटिमण्डपमा हुने कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, बहालवाला तथा पूर्व उच्च पदस्थ कर्मचारीलाई आमन्त्रण गरिएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

समारोहमा १५ हजार अतिथिलाई आमन्त्रण गरिएको र यसका लागि पार्टीका दुई हजार कार्यकर्तालाई स्वयम् सेवकको रुपमा खटाइने श्रेष्ठले बताए । राप्रपा नेपालले एक दशकदेखि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोह गर्दै आए पनि राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि पहिलोपटक सो कार्यक्रम गर्न लागेको हो ।

राप्रपाले राष्ट्रिय एकता दिवसलाई देशभर भव्यरुपमा मनाउन जिल्ला समितिलाई निर्देशन समेत दिइसकेको जनाएको छ । सो अवसरमा पृथ्वीनारायण शाहको बारेमा शोध अनुसन्धान गर्ने तीन महानुभावलाई सम्मान गरिने भएको छ ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्