स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने


 


काठमाडाैं, पुस २०

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ ।

आज बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिनुभयो ।

उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने निश्चित जस्तै भएको छ । बैठकले मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन गरिने छ ।

विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दीको विषयमा विवाद हुँदै आएको थियो । प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता विद्यार्थी सङ्गठनबीच विवाद सिर्जना भएर हुनसकेको छैन ।
विद्यार्थी सङ्गठनद्वारा स्वागत

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले उमेर हदबन्दी तोकेसँगै अब स्ववियु निर्वाचन हुने सुनिश्चित भएको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनले नै उमेरको हदबन्दी माग गरेको जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो सङ्गठनले एक पटक निर्वाचनका लागि उमेरको हदबन्दी नलगाउने पक्षमा रहेपनि निर्वाचनको सुनिश्चितता भए उमेरको हदबन्दीलाई मानेर जाने बताउनुभयो ।

अनेरास्ववियुका महासचिव ऐन महरले उमेरको हदबन्दी लगाएसँगै निर्वाचनको सुनिश्चितता भएको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्