नेपालले हङकङलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य


 


काठमाडौं, वैशाख ८ । एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज भएको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । एक समय ९८–८ को अवस्थामा रहेको नेपाली इनिङलाई अन्त्य तिर दीपेन्द्रले उकासेका थिए ।

नेपालको सुरुवात पुनः राम्रो रहन सकेन । नेपालका ओपनर कुशल भुर्तेल आज लगातार दोस्रो खेलमा डक आउट भए । इनिङको दोस्रो बलमा उनी आयुष शुक्लाको द्वारा विकेटकिपर जिशन अलीको हातबाट क्याच आउट भए ।

तेस्रो नम्बरमा क्रिजमा आएका सोमपाल कामी ७ बलमा २ चौका सहित १२ रन बनाएर तेस्रो ओभरमा आयुषकै बलमा आदिर गोरावाराको हातबाट क्याच आउट भए । अर्का ओपनर आसिफ शेख पनि पाचौं ओभरमा ११ बलमा ५ रनमा आयुषकै शिकार बने ।

आठौँ ओभरमा कप्तान रोहित पौडेल पनि पेभेलियन फर्किए । रोहित आठौँ ओभरमा अतिक इकबालको बलमा आउट हुनुअघि १९ बलमा २ चौका सहित २१ रन जोडे ।

कुशल मल्ल पनि १३ रन मात्र बनाएर यासिम मुर्तजाको बलमा आउट हुन पुगे । त्यसपछिका दुई ब्याटर सन्दिप जोरा र गुलशन झा १४औ ओभरमा लगातार दुई बलमा क्रमशः २२ र ६ रन बनाएर रनआउट भए । करण केसी पनि ३ रन मात्र बनाएर एहसान खानको बलमा एलबिडब्लुमा फसे । दीपेन्द्र र ललित राजबंशी अविजित रहेका थिए । ललितले ३ बलमा २ रन बनाए ।

हङकङका लागि आयुष शुक्लाले ३ विकेट लिए भने अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्