किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु ?


 


काठमाडौँ । नेपालका कम्युनिष्ट नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका छन् । केही दिनअघि मात्रै सत्तामा कम्युनिष्ट पार्टीहरूको वर्चश्व रहेकै बेला माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा एउटा टोली चीन पुगेको छ ।

चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव गुरुङ नेतृत्वको टोलीसँग चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले नेपालमा वामपन्थी एकीकरणमा गर्न जोड दिएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपाली नेताहरूलाई पालैपालो चीन भ्रमणको निम्तो दिइरहेको छ । गत वर्षको सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले पालैपालो दुई पूर्व प्रधानमन्त्रीको चीनमा स्वागत गरेको थियो । त्यसपछि लगातार रूपमै नेपाल कम्युनिष्ट नेताहरूको भ्रमण हुन थालेको छ ।

गत अक्टोवर १८ मा राजधानी बेइजिङ्मा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरममा सहभागी हुन नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन पुगेका थिए ।

सोही पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल त्यतिबेला चीन पुगेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साताव्यापी चीन यात्रामा नेपालसँग १४ जनाको टोली रहेको थियो ।

त्यतिबेला पनि चीनले नेपालमा वामपन्थीहरूबीचको एकतामा जोड दिएको थियो । अहिले पनि माओवादी महासचिव गुरुङसँगको भेटमा चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन खुशी भएको धारणा राखेका छन् ।

केही समयअघि माओवादीकै दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमण गरेका थिए । उनले पनि त्यहाँ कम्युनिष्ट पार्टीका नेताहरू भेटघाट गर्नेबाहेक कुनै काम गरेका थिएनन् । परराष्ट्र मन्त्रीको हैसियतमा गएका उनको खर्च सरकारी भए पनि काम भने पार्टीको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण गएका थिए । उनले आठ दिनसम्म बसेर बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका कम्युनिष्ट नेताहरूसँग भेटघाट गरेर फर्केका थिए ।

किन गइरहन्छन् कम्युनिष्ट नेताहरू चीन ?
नेपाल र भारतबीचमा आएका उतारचढावले चीनबीचको सम्बन्ध नयाँ उचाइमा लैजानुपर्छ भन्ने विषयमा कम्युनिष्टहरूबीच एक प्रकारको अघोषित सहमति जस्तै छ ।

आठ वर्षअघि नेपालमा नाकाबन्दी लागेपछि तत्कालीन एमाले र माओवादीका नेताहरूबीच यो विषयमा गहन कुराकानी भएको बताइन्छ ।

२०७५ साल जेठ ३ मा दुई पार्टीबीच एकीकरण भएपछि पनि धेरै नेताहरू चीन भ्रमणमा गएका थिए ।

त्यसपछि पनि नेताहरूको आउजाउ बढेको छ । साथै बीआरआईमा नेपालले हस्ताक्षर गरिसकेपछि चीनको नेपालसँगको पहिलो प्राथमिकता बीआरआई हो ।

दुई देशबीच सम्बन्धको मेरुदण्ड बीआरआई हो । नेपालले बीआरआईको एउटा पार्ट हौँ भनेपछि चिनियाँहरूले नेपाली नेताहरूलाई बोलाउने गरेका छन् ।

त्यसले गर्दा औपचारिक भेटघाट मात्रै होइन कि विभिन्न सङ्घसंस्थाहरूको व्यक्तिहरूसँग चीनको सम्बन्ध निकै बाक्लो भएको छ अहिले ।

तत्कालीन एमाले र माओवादी हुँदा पनि चिनियाँ कम्युनिस्ट पार्टीको धेरै राम्रो सम्बन्ध थियो । त्यहीबेला पनि दुई पार्टीका छुट्टाछट्ुटै औपचारिक अनौपचारिक चीन भ्रमण हुने गरेका थिए ।

एकतापछि त्यसको ठूलो संख्या नेताहरूको आवातजावत देखिएको थियो । अहिले एमाले र माओवादीबीच सरकार बनेपछि पनि यसको निरन्तरता दिएको देखिन्छ ।

कुनै समय ‘शान्त कूटनीति’को नीतिअन्तर्गत अरू देशको आन्तरिक मामिलामा चियोचर्चा नगर्ने चीन पछिल्लो समयमा निकै ‘सक्रिय कूटनीति’का साथ विश्वव्यापी रूपमै अघि बढेको र नेपालका पनि त्यसको प्रभाव परेको बताइन्छ ।

खासगरी छिमेकी देशहरूको सवालमा विशेष रुची र चासो चीनले बढाउँदै लगेको सन्दर्भमा स्वभाविक रूपमा उसको रुचि, चासो र गतिविधिहरू नेपालमा पनि वृद्धि भएको देखिन्छ ।

जसले गर्दा अहिले पनि नेपालका कम्युनिष्ट नेताहरूलाई चीन बोलाएर पार्टी एकतामा जोड दिएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्