दलका शिक्षकलाई बर्खास्त गर्न सबै जिल्ला इकाईलाई निर्देशन


 


काठमाडौं, वैशाख ९ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक÷कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईहरूलाई निर्देशन दिएको हो ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका शाखा अधिकृत हरिबहादुर श्रेष्ठले ७७ वटै जिल्लाका इकाईलाई परिपत्र गर्दै कारबाही गर्न निर्देशन दिइएको बताए । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी परेका छन् ।

ती उजुरीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले केन्द्रलाई निर्देशन दिएकी थिइन् । सोही आधारमा केन्द्रले इकाइहरूलाई परिपत्र गर्दै अनुसन्धान गरेर कारबाही गर्न भनेको हो ।

हाल नेपाली कांग्रेस नकट नेपाल शिक्षक सङ्घ, नेकपा एमाले एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्घ लगायतका शिक्षक सङ्गठनहरू क्रियाशील छन् ।

शिक्षा मन्त्रालयको उक्त निर्णयमा भने शिक्षक कर्मचारीहरूले विरोध जनाउँदै आएका छन् ।

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्