पञ्जाब किंग्समाथि गुजरात टाइटन्सको सहज जित


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई तीन विकेटले पराजित गरेको छ ।

पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे।

यस्तै कप्तान शुभमन गिलले ३५ रन बनाए भने साई सुदर्शनले ३१ रन जोडे। रिद्धिमान शाह र अजमतुल्लाह ओमारजाईले समान १३ रन जोडे। पञ्जाबका लागि हर्शल पटेलले ३, लियम लिभिंगस्टनले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो । पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाउँदा हरप्रित ब्रारले २९ रन जोडे। यस्तै स्याम करनले २० तथा हरप्रित सिंहले १४ रन बनाए।

गुजरातका साई किशोरले ५ विकेट लिए। मोहित शर्मा र नूर अहमदले २-२ र रशिद खानले १ विकेट लिए ।

८ खेलपछि गुजरातको यो चौथो जित थियो । टोली आठ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । पञ्जाब भने ४ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्