राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोज्यो – ओली


 


काठमाडौं, पुस २२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोजेको आरोप लगाएका छन । एमालेसहित विपक्षी ९ दलले काठमाडौंको भृकुटीमण्डपमा गरेको जनसभामा ओलीले सत्तारुढ दल संविधान कार्यान्वयन र चुनाव हुन नदिने षडयन्त्रमा लागेको आरोप लगाए ।

जुवातासमा हुने हारजितको उदाहरण दिंदै ‘तास खेल्दा जित्नेले तासको पत्ति बोकेर घर जाँदैन, सम्पत्ति लिएर जान्छ, सम्पत्तिको हारजित हुन्छ । संविधान संशोधनको प्रस्ताव पनि तासको पत्ता जस्तै हो, यसले राष्ट्रियतालाई आघात पार्छ ।’ ओलीले भने । एउटा उद्देश्यका लागि बनेको सरकार अर्कै उद्देश्यको काममा लागेको ओलीले आरोप लगाए ।

अहिलेको संविधान संशोधन प्रस्तावले निर्वाचनमा कतै पनि सहयोग नगर्ने ओलीले दावी गरे । कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित हुन नदिने बताए । २०७४ माघपछि अहिलेको संसद पनि नहरने र प्रधानमन्त्री पनि नरहने भएकाले त्यसअघि नै ३ वटा चुनाव गर्नु पर्ने ओलीले बताए ।

पुस माघमा चुनाव हुन नसक्ने भएकाले २०७४ को मंसिरको मध्यअघि नै चुनाव सक्नु पर्नेमा जोड दिए । तराई र पहाडबिच अविश्वास पैदा गरिएको भन्दै ओलीले तराईका नागरिकमाथि शोषणा गर्ने तत्वबाट खतरा रहेको आरोप लगाए । फागुनको दोश्रो हप्ता एमालेले मेचीकाली अभियान थाल्ने पनि बताए ।

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्