संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर रहेको छ -प्रधानमन्त्री


 


काठमाडाैं, पुस २३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर रहेको बताएका छन् । शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक ‘मान्छेभित्रको मान्छे’को शनिबार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री दाहालले कुनै व्यक्ति विशेष र कुनै एक पार्टीलाईमात्र समेटेर सविधान पूर्ण नहुने भएकाले सबैका अधिकार समेट्न संविधान संशोधन गर्न लागिएको बताए । उनले संविधान संशोधन प्रस्तावलाई अघि बढाउनुको विकल्प नरहेको स्पस्ट पारे ।

प्रधानमन्त्री दाहालले प्रतिपक्षी दल नेकपा एमालेप्रति लक्षित गर्दै सामन्ती सोच राख्नेहरुले संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन आइतबार  बस्ने संसदको बैठकमा संविधान संशोधनको प्रस्तावमाथि छलफल हुने जानकारी दिए ।

संविधान संशोधन प्रस्तावसँगै आइतबारको संसद बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरु पनि पेस गरिने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले संसद सुचारु भएमात्र दलहरुबीच देखिएका विमतिको टुंगो लाग्ने भएकाले अवरुद्ध नगर्न प्रतिपक्षी एमालेलाई आग्रह गरे ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्