गाउँमै पुगेर राहत बितरण


 


संखुवासभा, असार २

पहिरोका कारण घर छाडेर बिस्थापित भएका संखुवासभाका पाँच परिवारलाई गाउँमै पुगेर राहत वितरण गरिएको छ । संखुवासभा नुमको फ्याक्सिन्दा पुगेर पीडितलाई जिल्ला दैवि प्रकोप उद्धार समितिले कम्बल, त्रिपाल भाडाबर्तन, लत्ताकपडा र नगद वितरण गरेको हो ।

पीडितलाई जनही दुई हजारका दरले नगद पनि वितरण गरिएको छ । पावाखोला खाङदुवाका विस्थापितलाई पाथीभराको सिम्मामा उद्धार गरेर ल्याएपछि उनीहरुलाई राहत वितरण गरिएको हो ।

पहिरोबाट विस्थापित बनेका नुमको फ्याक्सिन्दाका १३ परिवार पहिरो पीडितलाई पनि राहत वितरण गरिएको छ । पहिरोबाट क्षति पुगेको मकालु, पावाखोला र पाथीभराका पीडितलाई गाविस सचिव मार्फत राहत पठाईएको छ ।

सडक यातायातको सुविधा नभएका गाउँमा सचिव र प्रहरी मार्फत राहत पठाइएको छ । गत शनिबार गएको पहिरोले नुम र पाथीभरामा २ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता छन् । यसैबीच, भुकम्पबाट घर बिहीन भएका २३ परिवारलाई खाँदबारीका सुरेन्द्र र रुबी श्रेष्ठले २ लाख बराबरको राहत सामाग्री वितरण गरेका छन् ।

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्