Deshko News
८ आश्विन २०८०, सोमबार

स्थानीय तहको निर्वाचन गराउन सांसदहरुको जोड 



काठमाडौं, पुस २५

सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न, भूकम्पपीडितलाई पुनः वासको उचित व्यवस्था र सडक विस्तारका क्रममा उचित मुआब्जा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष र शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय निकाय निर्वाचनको मिति तोक्न ढिलाईभईसकेको भन्दै अझै समय खेर नफाल्न सुझाब दिएका थिए ।

नेपाली काँग्रेसका रामहरि खतिवडाले निर्वाचनसम्बन्धी कानुन संसदमा पेस भइसकेकाले सबै दल मिलेर स्थानीय निर्वाचनतर्फ मुलुकलाई केन्द्रित गराउन आग्रह गरे । नेकपा (एमाले)का अनन्तप्रसाद पौडेलले विभिन्न सडक विस्तार गर्दा स्थानीयवासीलाई सरकारले उचित मुअब्जा दिनुपर्ने माग गरे ।

नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा तराईका केही जिल्लामा गरिएको पुनःसंरचनामा आफ्नो असहमति रहेको बताए । यस्तै राप्रपाका कुन्तीकुमारी शाहीले आगामि पुस २७ गतेको राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिएर राष्ट्र एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदानको सम्मान गर्न आग्रह गरिन ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का योगेन्द्र चौधरीले वैदेशिक रोजगारी गएकाहरुको जानकारी लिन र उतै ज्यान गुमाएकाको शव ल्याउन पनि कठिनाई भईरहेकोप्रति ध्यानाकर्षण गराए । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको सदुपयोग नभएको र गुणस्तरीय शिक्षामा चुनौती उत्पन्न भएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नबुझीकनै सङ्घीयता ल्याइएको भन्दै विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक प्रस्तुत गरेर तराई र पहाडलाई आपसमा अलग गर्ने षड्यन्त्र भएको आरोप लगाए । यस्तै शून्य समयमा बोल्ने गणेशसिंह ठगुन्ना, टीकाराम चेम्जोङ लिम्बू र तुलाराज विष्टले संविधान संशोधन विधेयक टेबल भईसकेकाले अब निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News