सामाजिक सद्भाव कायम राख्न पार्टी प्रतिबद्ध–ओली


 


विराटनगर, पुस २५

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वभौंमसत्ता, भौंगोलिक अखण्डता, गणतन्त्र र सामाजिक सद्भावप्रति एमाले पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेकपा (एमाले) आठौं मोरङ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – “स्थापनाकालदेखि नै एमालेले न्यायोचित वितरण प्रणाली र समानताको सिद्धान्तलाई अङ्गिकार गरेर मुलुकलाई विकासको मार्गमा डो¥याउने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।”

अध्यक्ष ओलीले जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन गरी मुलुकलाई निर्वाचनतर्फ अग्रसर गराउनुपर्ने अहिलेको आवश्यकता हो भन्दै “यतिबेला स्वार्थहरु टकराएका छन्, त्यसैले गणतन्त्रको स्थायित्वका लागि नेपाली जनता सजग हुनुपर्दछ ।”

देशलाई पछाडि धकेल्नका लागि क्षेत्र, भाषा र जातीय एकताबीच वैमन्स्यता फैलाउने काम अहिले भइरहेको छ, उहाँले भन्नुभयो – देशको विकास र समृद्धिका लागि सबै नेपालीबीच सबल एकता हुनुपर्दछ ।

अध्यक्ष ओलीले द्वन्द्व यतिखेर उद्योगको रुपमा फस्टाएर व्यवसाय गर्न खोजिँदै छ, यस्ता षड्यन्त्रबाट नेपाली जनता सजग र सचेत हुनुपर्दछ भन्दै संविधान संशोधन प्रस्ताव संविधानविपरीत रहेकाले संसद्बाट पारित हुन नसक्ने बताउनुभयो ।

तीन दिने सो अधिवेशनको सफलताको कामना गर्दै उहाँले पार्टीे सङ्गठनलाई अझ सशक्त र बलियो बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्