भारतीय लोक सभाको छैठौँ चरणको निर्वाचनमा दिउँसो ३ बजेसम्म ४९.२ प्रतिशत मतदान


 



नयाँदिल्ली, १२ जेठ । लोकसभा निर्बाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार दिउसो ३ बजे सम्म ४९.२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

पश्चिम बङ्गालमा सबैभन्दा बढी ७०.१९ प्रतिशत, झारखण्डमा ५४.३४ प्रतिशत, उत्तर प्रदेशमा ४३.९५ प्रतिशत, ओडिशामा ४८.४४ प्रतिशत, जम्मू कश्मीरमा ४४.४१ प्रतिशत , बिहारमा ४५.२१ प्रतिशत, हरियाणामा ४६.२६ प्रतिशत, र दिल्लीमा ४४.५८ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

लोकसभा निर्वाचनको छैठौँ चरणमा बिहारका आठ सिट, हरियाणाका सबै १० सिट, जम्मू कश्मीरको एक सिट, झारखण्डका चार, दिल्लीका सबै सात सिट, ओडिशाका छ सिट, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गालका आठ सिट समावेश छन् । निर्वाचनमा कुल ८८९ जना उम्मेदवार मैदानमा छन् ।

आम निर्वाचनको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका लागि चार सय २८ संसदीय क्षेत्रहरूमा मतदान पूरा भइसकेको छ ।

छैठौँ चरणमा सम्पन्न निर्वाचनमा मतदानका लागि योग्य ११ करोड १३ लाखभन्दा बढी मतदातामध्ये पाँच करोड ८४ लाख पुरुष, पाँच करोड २९ लाख महिला र पाँच हजार १२० जना तेस्रो लिङ्गी मतदाताहरू लोकसभा चुनावको छैठौँ चरणमा आफ्नो मताधिकार प्रयोग गर्न योग्य छन् । यस चरणको निर्वाचन सञ्चालन गर्न करिब ११ लाख ४० हजार मतदान अधिकृतहरू खटाइएका छन् ।

लोकसभा निर्वाचनको सातौं चरणको मतदान जुन १ मा पूरा हुनेछ जसमा ५७ निर्वाचन क्षेत्रका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको नतिजा जुन ४ पछि घोषणा हुनेछ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्