फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा


 



काठमाडौं । युरोपेली सङ्घ (ईयू)को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ ।

निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिनुभएको विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।

मध्यमार्गी मूलधारका दलहरूले युरोपेली संसद्मा समग्र बहुमत कायम राखेपनि समग्र परिणाममा अति दक्षिणपन्थी दलहरूको सुधार देखिएपछि ईयूको राजनीति तरङ्गित भएको छ ।

अति राष्ट्रवादी समूह फ्रान्स, इटाली र अष्ट्रियामा पहिलो तथा जर्मनी र नेदरल्याण्ड्समा दोस्रो भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भन्नुभयो, “हामी बायाँ र दायाँबाट अतिवादीहरूको विरुद्धमा किल्ला निर्माण गर्नेछौं ।”

७२० सदस्यीय व्यवस्थापिकाको निर्वाचनका लागि २७ देशका ३६ करोडभन्दा बढी युरोपेलीले मतदान गरेका थिए ।

ईयूको अर्को संसद र आयोगले युक्रेनमा रूसको जारी युद्ध, अमेरिका–चीन प्रतिद्वन्द्विताका कारण विश्वव्यापी व्यापार तनाव, जलवायु परिवर्तनको सङ्कटकालीन अवस्था र ‘विघटनकारी’ नयाँ डोनाल्ड ट्रम्पको राष्ट्रपतिको सम्भावनाको सामना गर्नुपर्नेछ ।

ईपीपीको प्रमुख उम्मेदवारको रूपमा, भोन डेर लेयेन आयोग सञ्चालन गर्नका लागि नयाँ जनादेश आवश्यक ठान्नुहुन्छ ।

इयूका नेताहरूले जुन २७ देखि २८ सम्म हुने शिखर सम्मेलनअघि जुन १७ देखि नै उहाँको नाम लिने वा अर्को विकल्प रोज्ने भन्नेबारे निर्णय गर्न थाल्नेछन् ।

यद्यपि, फ्रान्समा मरिन ले पेनको दक्षिणपन्थी नेसनल ¥याली (आरएन) पार्टीको शानदार जितले म्याक्रोँलाई यति ठूलो झट्का दियो कि उहाँले पेरिस ओलम्पिकको एक महिना अघि जुन ३० का लागि राष्ट्रिय विधायिकाको चुनावको आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “म केही भएको छैन जस्तो व्यवहार गर्न सक्दिनँ । उहाँले फ्रान्सेली जनताले अब आफू र भावी पुस्ताका लागि सबैभन्दा राम्रो विकल्प रोज्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्