लोकमानविरुद्ध महाअभियोग प्रस्तावको प्रक्रिया अघि बढ्यो


 


काठमाडौं, माघ ५

सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य ठहरिएका लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा लगाइएका आरोपहरुबारे अध्ययन गर्न व्यवस्थापिका–संसदको महाअभियोग सिफारिस समितिले उपसमिति गठन गरेको छ ।

सिंहदबारस्थित समितिको कार्यालयमा बुधबार बसेको बैठकले १५७ जना सांसदहरुले कार्कीमाथि महाअभियोग लगाउनुपर्ने प्रस्तावमा उल्लेख गरिएका आरोपबारे छानबिन गर्न उपसमिति गठन गरेको हो । उपसमितिमा सांसदहरु दीपक कुँइकेल, रेवतीरमण भण्डारी र रामनारायण विडारी सदस्य छन् ।

कार्कीमाथि लगाइएको आरोपको विषयमा सत्यतथ्य छानबिन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिइएको छ । उपसमितिले प्रतिवेदन बुझाएपछि त्यसलाई पारित गरेर संसदमा पठाउने सहमति पनि बुधबारको बैठकमा भएको छ । यो सबै प्रक्रिया अघि बढ्न बढीमा एक महिनाको समय लाग्ने छ ।

महाअभियोग सिफारिस समितिले बुधबार कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने/नबढाउनेबारे महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसँग झन्डै दुई घन्टासम्म छलफल गरी सुझाव लिएको थियो ।

 

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्