प्रहरी र सरकारी वकिलको राष्ट्रिय सम्मेलन राजधानीमा


 


काठमाण्डौ,माघ १४

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन आज देखि काठमाडौंमा सुरु हुँदैछ । राजधानीको राष्ट्रिय सभागृहमा हुने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा ५ सय ३५ जना सहभागी हुने बताइएको छ । प्रहरी र सरकारी वकिलबिच समन्वय र सहकार्य अघि बढाउनका लागि सम्मेलन आयोजना गरिएको महान्यायाधीवक्ता कार्यालयका अधिकृत निराजन पाण्डेले जानकारी दिए ।

सम्मेलनमा फौजदारी मुद्धाका अनुसन्धानका क्रममा प्रहरी र वकिलबिच हुने असमझदारी, अन्योल, समस्या र अप्ठेरालाई कम गर्ने विषयमा छलफल हुने छ । यस्तै अपराधमा आएको नयाँ रुप, संगठित अपराध, उच्च प्रविधिको प्रयोग तथा अन्तर्रा्िष्ट्रयकरण जस्ता प्रवृत्ति र यसबाट आउने समस्याको निराकरणका लागि सम्मेलनमा कार्यपत्र प्रस्तुतीकरण, तथा त्यसमाथि टिप्पणी र छलफल हुनेछ ।

आइतबार सम्म चल्ने सम्मेलनले पारित गर्ने प्रस्ताव तथा अवधारणाले भावि अनुसन्धानलाई दिशाबोध गर्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्