प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता : राष्ट्रपति पौडेल
काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको बताएका छन्।
लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोगले आज आयोजना गरेको समारोहमा राष्ट्रपति पौडेलले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले समयानुकूल सार्वजनिक सेवा प्रवाहमार्फत आम नागरिकको मन जित्नुपर्नेमा जोड दिए।
समारोहमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लाखौँ युवाको आकर्षणको केन्द्रका रूपमा रहेको लोक सेवा आयोगले समावेशी सहभागिताको दृष्टिले सार्वजनिक सेवाका लागि कर्मचारी छनोट गरेर समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास गरेको बताए।
त्यसैगरी आयोगका अध्यक्ष माधव रेग्मीले लोक सेवा आयोगप्रति जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै राष्ट्रसेवक कर्मचारी छनोटमा कायम राखिएको निष्पक्षतालाई कुनै पनि अवस्थामा कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीलाई सम्मान गरिएको थियो। साथै आयोगमा कार्यरत तीन जना उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो।
प्रकाशित मिति: १ असार २०८३, सोमबार











