पाँच वर्षभित्र एक घर एक धारा : राज्यमन्त्री खड्का


 


दाङ, माघ १६

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले पिउने पानीलाई आधारभूत आवश्यकताका रुपमा सरकारले लिएको बताउँदै, अबको पाँच वर्षभित्र एक घर एक पानी धारा हुने जानकारी दिनुभयो ।

हाल एक वर्षभित्रै सम्पन्न हुने गरी देशभरमा पाँचहजार एकसय खानेपानीका योजना सञ्चालन भइरहेको जानकारीसमेत दिनुभयो । राज्यमन्त्री खड्काले नेपालमा आधारभूत खानेपानी ८५ प्रतिशत र आधारभूत सरसफाइ ८६ प्रतिशत जनतामा पुगिसकेको बताउँदै आगामी एक वर्षभित्रै सबैको पहुँचमा सेवा पु¥याउन सरकार लागिपरेको बताउनुभयो ।

तराईका जनताले अझै पनि स्वच्छ पिउने पानी उपभोग गर्न नपाएको बताउँदै तराईमा डिपबोरिङको माध्यमबाट त्यहाँका जनतालाई स्वच्छ पिउने पानी र पहाडी क्षेत्रमा लिफ्ट सिस्टमबाट जनतालाई स्वच्छ पानी पु¥याउने योजना सरकारले अगाडि सारेको राज्यमन्त्री खड्काले बताउनुभयो ।

यसैबिच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई हठ त्यागी सहमतिको राजनीतिमा आउन उहाँले आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन, दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले लोकतन्त्रमा सबै पक्षको आवाज सुन्नुपर्ने र उचित माग पूरा हुने भएकाले पनि एमालेले मधेस र आदिवासीलगायतका कुरालाई सुन्नुपर्ने बताउनुभयो ।

एमाले जति कडा बन्दै जान्छ, मुलुक झनै अन्योलताको भूमरीमा पर्ने उहाँले बताउनुभयो । काँग्रेसका नेतासमेत रहनुभएका मन्त्री खड्काले समयमै लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो ।

उहाँले मधेसी र आदिवासी जनजातिलगायतका कैयौँ समुदायहरू उत्पीडितमा रहेको र संविधान संशोधनमार्फत उनीहरूको माग सम्बोधन हुने भएकाले संशोधनमा लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो ।

अर्को एक प्रसङ्गमा उहाँले सरकार निर्वाचनको घोषणाको तयारीमा जुटिसकेको बताउनुभयो । अब दलहरूसँग छलफल गरी तीनवटै निकायको निर्वाचन एक वर्षभित्र सम्पन्न हुने गरी मिति घोषणा हुने बताउनुभयो ।

ओभरहेड ट्याङ्की शिलान्यास

यसैबीच, नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गर्न थालेको ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ ।

ट्याङ्कीको राज्यमन्त्री खड्काले शिलान्यास गर्नुभएको हो । समितिले त्रिपुर–५ मा चारलाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो ।

सरकारको सहलगानी आयोजनाअन्तर्गत रु १५ करोडभन्दा बढीको योजनाअनुसार निर्माण गरिने ओभरहेड ट्याङ्कीको शिलान्यास गर्दै मन्त्री खड्काले ट्याङ्की निर्माणसँगै यस क्षेत्रको खानेपानीको समस्या हल हुने बताउनुभयो ।

 

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्