एफआरएमा देशभरकै पहिलो इलाम नगरपालिका
इलाम २७ भदौ। पछिल्लो पटक इलाम नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरकै पहिलो भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा ९९ प्रतिशत सूचांकसहित इलाम नगर पहिलो भएको मेयर केदार थापाले जानकारी दिनुभयो । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन यसका सूचक थिए । मेयर थापाले नगरले मेहनतपूर्वक काम गरेकाले यो सफलता हासिल भएको बताउनुभयो ।
मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा पनि इलाम नगरपालिका देशभरको पाँचौँ र कोशी प्रदेशको पहिलो भएको थियो । आर्थिक वर्ष २०७९/०८० को लिसामा इलाम नगरले ८९.५० अङ्क प्राप्त गरेको थियो । इलाम नगरले लिसाका सूचकमध्ये शासकीय प्रबन्धमा ८, सङ्गठन तथा प्रशासनमा ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५, वित्तीय आर्थिक व्यवस्थापनमा १० अङ्क पाएको थियो ।
यस्तै, सेवा प्रवाहमा १४ दशमलव २५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ दशमलव ५ तथा सहकार्य र समन्वयमा ५ दशमलव ५ अङ्क इलाम नगरले ल्याएको थियो ।
प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार