Deshko News
१४ आश्विन २०८०, आइतबार

बाथ मुटुरोगको निःशुल्क शल्यक्रिया सुरु



काठमाडौँ, फागुन १

बाराका १५ वर्षीय बाथ मुटुरोगी आर्यन अन्सारीको आज सहिद गङ्गालाल हृदय केन्द्रमा निःशुल्क शल्यक्रिया गरी मुटुको भल्ब फेरिएको छ ।

सरकारले आजैबाट १५ वर्षभन्दा माथि ७५ वर्षमुनिका बाथ मुटुरोगीको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थाबमोजिम अन्सारीले शल्यक्रियालगायतका उपचार निःशुल्क पाउनुभएको हो ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले गत माघ १५ गते सहिद गङ्गालाल हृदय केन्द्रको वार्षिकोत्सवमा बाथ मुटुरोगीको सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गर्नुभएको थियो ।

अस्पतालका प्रशासन प्रमुख दिपेन्द्र खड्काले आज एक जनाको मात्र शल्यक्रिया गरिएको बताउनुभयो । नेपालमा मुटु रोगको समस्या बढ्दै गएपछि सरकारले मुटुका अन्य रोगको उपचार निःशुल्क गरेअनुरुप बाथ मुटुरोगीको पनि उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रसँगै, मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि सो रोगको उपचार सेवा निःशुल्क पाइनेगरी तयारी पूरा भइसकेको मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि नै मुटुरोगीका लागि रु एक लाख उपचारका लागि आर्थिक सहयोग, १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको मुटुको सम्पूर्ण उपचार पनि निःशुल्क रुपमा गर्दै आएको छ ।

खानपान र फेरिएको जीवनशैलीसँगै मुटुका रोगीको सङ्ख्या नेपालमा बढ्दै गएकोले उपचारलाई सहज र सबै नागरिकको पहँुचमा पु¥याउन यो सुविधा थप गरेको स्वास्थ्यमन्त्री थापाले बताउनुभयो ।

नेपालमा काम गरी आम्दानी गर्ने उमेर समूहका युवा त्यसमा पनि विदेशमा रोजगारीका गएका युवाहरुमा मुटु रोगको समस्या बढ्दै गएको पाइएको चिकित्सक बताउँछन् ।

यसैगरी सहिद गङ्गालाल हृदय केन्द्रको सञ्चालक समितिको बैठकले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मुटु रोगको सेवा विस्तार र जनकपुर अञ्चल अस्पतालमा सेवा सुरु गर्ने अध्ययन गर्ने निर्णय गरेको मन्त्री थापाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News