बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले जागिर छाडे, अब नयाँ पार्टी खोल्ने



काठमाडौं, फागुन १७

बिबिसी नेपाली सेवाका नेपाल प्रमुख रबिन्द्र मिश्र जागिर छोडेर राजनीतिमा आएका छन्। राजनीतिक जीवन सुरू गर्नका लागि उनले मंगलबारदेखि बिबिसी नेपाली सेवा छोडेका छन्।

मिश्रले नयाँ पार्टी स्थापना गर्न लागेका छन् । लामो समयदेखि उनी बिबिसी नेपाली सेवामा थिए। मिश्रले बिबिसी नेपाली सेवाबाट मासिक ६ लाख रुपैयाँ पारिश्रमिक बुझ्थे।

उनी राजनीतिमा आउने हल्ला भने दुई वर्षपहिलेदेखि नै थियो। बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टीमा आवद्ध हुने हल्ला चलेको थियो। तर, मिश्र नयाँ शक्तिमा गएनन्।

मिश्र, पूर्वमुख्यसचिव लीलामणि पौडेल, अर्थशास्त्री स्वर्णिम वाग्लेलगायतले नयाँ पार्टी स्थापनाको तयारी गरेको बताइन्छ। तर, पौडेल अहिले चीनको राजदूत बनेर गएपछि योजनामा केही फेरबदल भएको स्रोतले बतायो।

उनले डाक्टर, प्राध्यापक, समाजसेवी, पूर्वप्रशासकहरूसँग मिलेर नयाँ पार्टी घोषणा गर्न लागेको स्रोत बताउँछ। उनी लोकप्रिय सञ्चारकर्मीको रुपमा चिनिन्छन्। मिश्र सामाजिक क्षेत्रमा पनि आवद्ध छन्।

शुभचिन्तकले उनलाई आगामी यात्राका लागि सामाजिक सञ्जालमा शुभकामना दिएका छन्। मिश्रले बेलायतको लन्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर हासिल गरेका छन्।

डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्मको शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन्।

पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज इन्टरनेसनल अंग्रेजी दैनिकमा उनले साढे दुई वर्ष काम गरेको अनुभव बटुलेका छन्।

त्यसै क्रममा सन् १९९३ मा पाकिस्तानमा चुनाव भएका बेला बिबिसीलाई चुनावी रिपोर्टिङ गर्ने मौका पाएका मिश्रले पछि बिबिसीमै काम गर्ने अवसर पाए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News