दायाँबायाँ हतियारधारी राखेर फोटो खिचाएपछि विवादमा सांसद खान



रौतहट । जनमत पार्टीका सांसद अब्दुल खान विवादमा तानिएका छन् । पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्रीसमेत रहेका खानले दायाँबायाँ हतियारधारी राखेर फोटो खिचाएपछि विवादमा तानिएका हुन् ।

उनी गौर आएका बेला जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसेदसहितको समूहले हतियार प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सांसद खान शुक्रबार जिल्ला इन्चार्ज शेख जमसेदको घरमा पुगेका थिए ।

सोही बेला खिचिएको तस्बिर र भिडियो जमसेदले शनिबार सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका थिए । तर आलोचना हुन थालेपछि केही समयमै जनमत पार्टी रौतहटका इन्चार्जसमेत रहेका जमसेदले डिलिट गरेका थिए ।

तर ती इजाजतप्राप्त हतियार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको विषयमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेष जमसेदसँग सोधपुछसमेत गरेको बताइएको छ ।

लाइसेन्सप्राप्त हतियार भएकाले सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । जमसेदले शुक्रबार घरमा बन्दुक सफा गर्ने वेला तस्बिर खिचिएको दाबी गरेका छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्