डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार दास र पोखरेललाई
काठमाडौँ, २५ जेठ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०८२ वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरेको छ।
त्यसैगरी, डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरिएको छ।
सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गरेका छन्। राष्ट्रिय शान्ति पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय पुरस्कारअन्तर्गत प्रशंसापत्रसहित नेपालको संस्कृति झल्कने आकर्षक उपहार प्रदान गरिएको समितिले जनाएको छ।
पुरस्कार प्राप्त डा. दासले चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा दीर्घकालदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। त्यस्तै, डा. पोखरेलले नेपालको नेत्र चिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति सङ्घको स्थापना र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, विपद् व्यवस्थापन तथा संस्थागत क्षमता विकासलगायत क्षेत्रमा दीर्घकालीन सहयोग गर्दै आएको छ।
कार्यक्रममा पुरस्कार छनोट तथा शिक्षा र समाजसेवाको क्षेत्रमा योगदान पुर्याएबापत प्रा.डा. मोहन लोहनी, प्रा.डा. जयराज आचार्य र प्रा.डा. प्रेमकुमार खत्रीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो।
पुस्तकालय विकास समितिकी अध्यक्ष प्रा.डा. बिणा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चन्द्रकिरण श्रेष्ठले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए।
समितिले हालसम्म १२ पटक उक्त पुरस्कार प्रदान गरिसकेको छ। इतिहासकार, चिन्तक तथा राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीको नाममा स्थापित यो पुरस्कारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति, मानवता र विकासका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















