सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु



काठमाडौं, १३ फागुन । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन तोरण विक्रम शाहीले उत्कृष्ट सुरुवात गरे।

उनले ७–अन्डर ७५ को शानदार स्कोर कार्ड तयार पार्दै निरज तामाङ र सञ्जय लामामाथि ४ स्ट्रोकको अग्रता बनाए। निरज र सञ्जय दुवैले ३–अन्डर ६९ को स्कोर गरे।

दिनेश प्रजापति, जयराम श्रेष्ठ र टंक बहादुर कार्की समान २–अन्डर ७० को स्कोर गर्दै चौथो स्थानमा छन। रवि खड्का १–अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन् भने भूबहादुर गुरुङ, बलभद्र राई र रमेश अधिकारी तथा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर १ एमेच्योर खेलाडी सदभाव आचार्यसँगै इभन–पार ७२ को स्कोरसहित आठौं स्थानमा छन्।

तोरणले सुरुवात राम्रो गरे। दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा चार बर्डी प्रहार गरे। आठौं होलमा एक सट खेल फाल्दा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। यसपछि ब्याक नाइनमा पनि उत्कृष्ट लयलाई निरन्तरता दिए। बोगी रहित ब्याक नाइन खेल्ने क्रममा ११औं, १३औं, १५औं र १७औं होलमा चार बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइनमा ४–अन्डर ३२ को प्रदर्शन गरे।

यसअघि लगातार दुई प्रतियोगिता जितेका निरज तामाङले तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३ अन्डर ३३ मा पुरा गरे। यसपछि ११औं होलको बर्डीका विरूद्ध १३औं होलको बोगीले ब्याक नाइन इभन(पार ३६ मा सकाए।

यसैगरि सञ्जयले वोगीरहित फ्रन्ट नाइनमा पहिलो, तेस्रो, चौंथो र सातौं होलमा बर्डी प्रहार गर्दै ४ अन्डर ३२ को उत्कृष्ट सुरुवात गरे। ब्याक नाईन भने उनले आशातित प्रदर्शन गर्न सकेनन र १(ओभर ३७ मा चित्त बुझाए। १०औं होलको वोगी सहित ब्याक नाईन सुरु गरेका सञ्जयले ११औं र १३औं होलमा बर्डी खेल्दै लयमा फर्के। तर १६औं र १८औं होलमा एक(एक सट खेर फाल्दा निरजसँग दोस्रो स्थान बाँड्न बाध्य भए।

नेपाल नम्बर १ प्रो भूवन नगरकोटीले पार ३को पाँचौं होलमा होल इन वन गरे पनि पहिलो दिन १ ओभर ७३ को स्कोर गरे। उनी रामे मगर, दीपक मगर र बसन्तराज गुरुङसँगै १२औं स्थानमा छन्।

एमेच्योर तर्फ सदभाव राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा र बाबु पौडेल भन्दा ३ स्ट्रोक अगाडी रहे। सदभावले इभन(पार ७२ खेल्दा राहुल र बाबुले ३(ओभर ७५ को कार्ड तयार पारे।

चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र ९ एमेच्योरगरी कुल ३९ गल्फरको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। शीर्ष २१ खेलाडीले बाकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन्।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार पाउने छन् ।

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्