प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु
मोरङ, १३ फागुन । ‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१’ आजदेखि विराटनगरमा सुरु भएको छ ।
प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रदेशका १४ जिल्लाका खेलाडीले विभिन्न ११ वटा खेलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा महिला फुटबल, एथलेटिक्स, कवड्डी, बाघचाल, भेट्रान्स पुरुष, टेवलटेनिस ९महिला तथा पुरुष०, कराँते प्रतियोगिता ९महिला तथा पुरुष०, तेक्वान्दो प्रतियोगिता ९महिला तथा पुरुष०, सफ्ट टेनिस प्रतियोगिता ९महिला तथा पुरुष० मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल, डोरीतान प्रतियोगिता, वुद्धिचाल प्रतियोगिता रहेका छन् ।
महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको खेलाडी छनौटमा सहयोग पुग्ने बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय खेलमा पदक प्राप्त गर्ने खेलाडी उत्पादनका लागि आवश्यक खेल पूर्वाधार एवं प्रशिक्षणको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रदेशका सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष पाँचकर्ण राईले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अत्यधिक पदक जित्नका लागि महोत्सव उपयोगी हुने विचार व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले महोत्सवले लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गर्नुभयो ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत र नेपाल उद्योग वाणिज्य महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले सम्बोधन गर्नुभएको थियो । प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ७८ लाख ७७ हजार खर्च हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार
















